चैतन्य एकेडेमीले मनायो गुरु पूर्णिमा - Chaitanya News
  • 2026-11-16
  • 14:54:59
  • सोमबार,मंसिर ०१, २०८३
  • चैतन्य एकेडेमीले मनायो गुरु पूर्णिमा

    चैतन्य एकेडेमीले मनायो गुरु पूर्णिमा

    काठमाडौं- काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीले विशेष कार्यक्रमको आयोजना गर्दै गुरु पूर्णिमा मनाएको छ। लोकसेवालगायत विभिन्न सरकारी सेवाको तयारी गरिरहेका विद्यार्थीहरू माझ आध्यात्मिक गुरु डा. चिन्तामणिनाथ योगीको उपस्थितिमा एकेडेमीले गुरु पूर्णिमा मनाएको हो।

    वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रूपमा मनाउने गरिएको स्मरण गर्दै गुरु योगीले जीवनमा सत्मार्ग देखाउने सबै गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्नुपर्ने बताए। ‘हामीलाई पहिलो शब्द बोल्न सिकाउने आमा, स्कुलमा कखरा सिकाउने शिक्षा गुरु र जीवनका प्रत्येक पलमा सत्मार्ग देखाउनुहुने गुरुहरूलाई हामीले कहिले भुल्न हुँदैन’, उनले भने।

    संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुने बताउँदै गुरु योगीले अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने सबै गुरुजनप्रति श्रद्धा प्रकट गर्दै उनीहरूलाई स्मरण गर्नुपर्ने बताए।

    यस्तै चैतन्य ग्रुपमा सिइओ गणेश प्रसाद जोशीले गुरुहरूको महिमा निकै ठूलो रहेको स्मरण गरे। उनले जीवनमा सुमार्ग देखाउन गुरुहरूको ठूलो योगदान हुने बताए। गुरुको महिमा बुझ्दै उनीहरूले देखाएको बाटो अंगिकार गर्न सके जीवनमा ठूलो सफलता प्राप्त हुने जोशी बताउँछन्।

    आजको दिनमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान तथा आदरभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइने गरिन्छ।

    वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो योगदान दिएको मानिन्छ। गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ।

    सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बिहरूले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परिक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्त गर्ने विशेष दिनका रूपमा लिने गर्छन्।