काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कला, साहित्य र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताएका छन्। कला, साहित्य र खेलकुद क्षेत्रमार्फत आर्थिक सामािजक रुपान्तरणलाई दिगो बनाउने उद्देश्यका साथ पहल थालिएको उनले उल्लेख गरे।
‘प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुल्ला महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा समेत यस क्षेत्रलाई प्राथमिकता राखेको र यसपटक पनि उत्तिकै महत्व दिएको उनले बताए। खेल क्षेत्रलाई प्रभावकारी बनाउन र अगाडि बढाउन सरकारको तर्फबाट शतप्रतिशत प्रयास रहने प्रधानमन्त्री दाहालको भनाइ छ।
पछिल्ला दिनमा क्रिकेट खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्राप्त गरेको सफलताको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बक्सिङलाई पनि विश्वव्यापी रुपमा अगाडि बढाउन जरुरी रहेको बताए। युवाको सर्वांगीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको उनले स्पष्ट पारे। खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाको भविष्यसँग जोडिएको उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले भने, ‘यसपटक मैले कला–साहित्य र खेलकुदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। खेलकुदको विकासले युवाको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयमिक महत्व छ। सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रवर्द्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ।
प्रतियोगिताबाट खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे।
‘स्व। प्रकाश दाहालको स्मरणलाई ताजा राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ। सो प्रतियोगिता बूढानीलकण्ठ नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र नेपाल बक्सिङ संघले संयुक्त रुपमा आयोजना गरेका हुन्। प्रतियोगिता चार दिनसम्म चल्नेछ।