काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याई नगरेको दाबी गरेका छन्।
आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्यस्तो बताएका हुन्।
मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत बताए। उनले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने बताए।
उनले भने, ‘कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन। यसको हेलचक्र्याई भइरहेको सन्दर्भ उठेको छ। पटक्कै हेलचक्र्याई गर्न खोजिएको छैन। माथि होस कि तल। दायाँ होस कि बायाँ कोही पनि पीडकलाई छोड्नु हुन्न। यदि हामी न्यायको पक्षमा उभिन्छौँ भने, यदि हामी पीडितको पक्षमा उभिन्छौँ भने माथिलाई छोड्ने, तललाई समात्ने हुँदै होइन। सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ। ठूलो, सानो हामी हेर्दैनौँ। अनुहार पनि हेर्दैनौँ। राजनीतिक पार्टी पनि हेर्दैनौँ।
मन्त्री गुरुङले वित्तीय अनुशासन उलंघन गर्नेहरूलाई सरकारले नछोड्ने बताए।