काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले पार्टी सभापति शेरबहादुर देउवा योग्यताकै आधारमा पाँच पटक प्रधानमन्त्री भएको दाबी गरेका छन्।
सुदूरपश्चिममा रहेका उनले सभापति देउवा भाग्यले पाँचपटक प्रधानमन्त्री नभएको बताए। आइतबार अछामको चौरपाटीमा कांग्रेसको स्थानीय समितिले गरेको कार्यक्रममा उनले भने, ‘धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। तपाईं कसैलाई पाउनुहुन्छ ५ पटक लट्री परेको मान्छे? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ,’ उनले भने, ‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो। पार्टीको विचारले हुनुभएको हो।
महामन्त्री गगन थापाले शनिबार एक कार्यक्रममा एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री किन बन्नुपर्ने भन्दै प्रश्न गरेका थिए। एउटै व्यक्ति एउटै पदमा पटक पटक पुग्नु लोकतन्त्रका लागि पनि राम्रो नहुने उनको भनाइ थियो। तर महामन्त्री थापाको भनाइको प्रतिवाद गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका साउदले देउवा क्षमताकै कारण पाँच पटक प्रधानमन्त्री भएको दाबी गरेका हुन्।
परराष्ट्र मन्त्री साउदले नयाँ दलका लागि सामाजिक सञ्जाल रहेको तर संगठन नभएको बताए। ‘उनीहरु अर्को पार्टीका कार्यकर्तालाई हामीलाई भोट दिनु भन्छन्। पार्टी पद्धतिमा विश्वास गर्दैनन्’, उनले भने, ‘पार्टी पद्धतिमा विश्वास नगर्नेले देश सञ्चालन गर्न सक्दैनन्। त्यही भएर लगातार विवादमा परिराखेका छन्।
उनले वामपन्थीको चिन्तन उत्पादन नबढाउने, तर वितरणमात्र बढाउने भएको बताए। ‘बाँड्दै जाँदा सबैलाई पुग्ने गरी बाँड्नुपर्छ, तर उनीहरु सबैलाई पुग्ने गरी बाँड्दैनन्’ मन्त्री साउदले भने, ‘कतै धेरै त कतै अनिकाल पर्ने गरी वितरण गर्छन्। उनले एमाले नेतृत्वको सरकारले आर्थिक अनिकाल आउने परिस्थिती निर्माण गरेको आरोप समेत लगाए।