काठमाडौं– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सरकार बहकिन थालेको टिप्पणी गरेका छन्। आज (आईतबार) प्रतिनिधि सभामा मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्ति छलफलमा भाग लिँदै उनले जुलुस आउनेवित्तिकै विधेयक ल्याइहाल्ने र जुलुस घरमा गएर बसेपछि संशोधन थाल्ने प्रवृत्ति बढेको टिप्पणी गरेका हुन्। कतिपय कुराहरुमा मिटरब्याजीलाई सरकार आफैंले संरक्षण गरेको हो कि भन्ने भान भएको उनको टिप्पणी छ।
‘हामी पनि अलिकता बहकिन थालेका छौं। जुलुस आयो, त्यसैको पक्षमा तुरुन्त विधेयक ल्याइहाल्नु पर्ने। त्यो जुलुस गएर घरमा बस्यो, अलि मिलेन कि संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी लागेका छौं। मिटरब्याजी कतिपय कुरामा हामी आफैंले संरक्षण गरेका हौं कि जस्तो पनि हामीलाई भान हुन्छ,’– उनले भने।
गाउँघरतिर बैंकले साना पुँजी भएकाहरुलाई ऋण नदिँदा गरिबहरु झनै मिटरब्याजीहरुको चपेटामा परेको उनले बताए। साहुमहाजनले ऋण दिएर कति लिन पाउने हो त्यसको बारेमा सरकारले निर्धारण गर्न आवश्यक रहेको पनि उनले बताए।
‘बैंकिङ सेक्टरमा हेर्न हो भने, बैंकले लगानी गर्छ, साना पुँजी भएकालाई लगानी गर्न डराउँछ। गाउँघर तिर त झन यो तेरो खेतको मूल्य नै छैन, पाउँदैनस् भन्दिनछ, मान्छेले बैंकबाट ऋण नै लिन पाउँदैन। नजिकको साह महाजनबाट लिन्छ। साहु महाजनले कति लिन पाउने हो?निर्धारण गरौं,’–सांसद खतिवडाले भने।
मान्छे बैंकको व्याज तिर्न नसकेर मरिरहेको उल्लेख गर्दै उनले त्यसमा पनि विचार गर्न आवश्यक रहेको उनले बताए। बैंकको पैसा तिर्न नसकेर मरेका ऋणीहरुको बारेमा पनि सरकारले व्यवस्था गर्नुपर्ने उनले बताए।