बजेट पास हुँदैन कि भन्ने तरंग अन्त्य भयो : प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 14:41:44
  • सोमबार,मंसिर ०१, २०८३
  • बजेट पास हुँदैन कि भन्ने तरंग अन्त्य भयो : प्रचण्ड

    बजेट पास हुँदैन कि भन्ने तरंग अन्त्य भयो : प्रचण्ड

    गण्डकी- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन्। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ। यो कसैले हिलाएर हिल्दैन। हामी समझदारीका साथ अगाडि बढ्छौँ।’

    भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको जिकिर गर्दै उनले थप तीव्रताका साथ अघि बढ्ने बताए।

    ‘बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस रहेको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ।’

    अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उनको भनाइ थियो। यसपटकको भारत भ्रमण ऐतिहासक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताए। ‘भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्नु ठूलो विषय हो। यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्’ उनले भने।

    पारवाहन सन्धि पुनरावलोकन महत्वपूर्ण निर्णय भएको र विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको उल्लेख गर्दै प्रचण्डले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताए। यसबाट विद्युत् व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने जिकिर गर्दै उनले यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उल्लेख गरे।