विराटनगर– पाँचदलीय गठबन्धनका नेताहरुले कोशी प्रदेशमा बहुमतको सरकार गठनको प्रयास गर्ने बताएका छन्। तर सहमतीय सरकार गठनको सम्भावना पनि नकारेका छैनन्।
मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएसँगै एमाले नेतृत्वको सरकार ढलेको छ। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने छन्।
पाँचदलीय गठबन्धनका नेताहरुका अनुसार सुरुमा बहुमतीय सरकार गठनको प्रयास हुनेछ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ। माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य छ। कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का एक प्रदेशसभा सदस्य छन्।
प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ प्रदेशसभा सदस्य छन्। अर्थात दुबै (एमाले–राप्रपा र पाँचदलीय) गठबन्धनसँग समान ४६ मत मात्र ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा बहुमत जुटाएर गठबन्धनको सरकार गठनको प्रयास हुने बताउँछन्। प्रदेशसभामा ९३ सदस्य रहेको भन्दै उनले भने, ‘अहिले हामीसँग ४६ छ। बाँकी रहेको संख्याबाट प्लस गराउने कोसिस गर्छौं।’
राप्रपा आउँछ भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ।’
यद्यपि सहमतीय गठनको सम्भावना पनि उनले अस्वीकार गरेनन्। कांग्रेस संसदीय दलका नेता थापाले भने, ‘सहमतीय सरकारको कुरा भइराखेको छ। त्यो पनि हुन्न भन्न सकिन्न।’
प्रदेशको अवस्थालाई हेरेर स्थायित्वका लागि सहमतीय सरकार गठन गर्नुपर्ने हुनसक्ने बताए। उनले अघि भने, ‘अहिले पहिलो प्रयास चाहिँ गठबन्धन दलहरु भित्रैबाट बहुमत पुर्याएर सरकार बनाउने र चलाउने कोशिश गर्छौं।’
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे।
गठबन्धनमा सरकारको नेतृत्वबारे पनि सहमति जुटेको छैन। एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले भने मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन्। सरकारमा माओवादी र कांग्रेसको दाबी छ।