विराटनगर– एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन्।
शुक्रबार मात्र कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन सकेनन् । प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो, बहुमतका लागि ४७ चाहिन्थ्यो।
अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने पाँचदलीय गठबन्धनका नेताहरुले बताएका छन्।
९३ सदस्यीय प्रदेशसभामा चार सिट भएको एकीकृत समाजवादीका संसदीय दलका नेता राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताए।
‘केन्द्रमा समझदारी भयो भने जुनसुकै जिम्मा लिनुपर्ने भएकाले त्यसका लागि तयार छु। तर व्यक्तिगत रुपमा (मुख्यमन्त्रीमा) मेरो दाबी र प्रयास छैन’, उनले भने।
आफूले दाबी नगरेपछि नै नयाँ प्रक्रिया अघि बढेकाले यसमा समर्थन र सहयोग गर्ने उनले बताए।