‘नेपाली राजनीतिमा विचारविहीनहरुको लहर चलेको अध्यक्ष ओलीको टिप्पणी - Chaitanya News
  • 2026-11-16
  • 12:31:53
  • सोमबार,मंसिर ०१, २०८३
  • ‘नेपाली राजनीतिमा विचारविहीनहरुको लहर चलेको अध्यक्ष ओलीको टिप्पणी

    ‘नेपाली राजनीतिमा विचारविहीनहरुको लहर चलेको अध्यक्ष ओलीको टिप्पणी

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा विचारविहीनहरुको लहर चलेको टिप्पणी गरेका छन्।

    मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा ‘जबजका आयाम तथा विशेषताहरू’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले अहिले विचार, सिद्धान्त केहि नभएको र समाजमा योगदानको मतलव नहुने मानिसहरु चर्चामा आउने लहर रहेको तर्क गरेका हुन्।

    ‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्। अहिले एउटा लहर चलेको छ। विचार नचाहिने, बिना विचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ। योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र? उनले भने– ‘कसलाई फुर्सद छ योगदानका कुरा गर्ने? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने? भन्ने खालका विचारहरु पनि आज सुनिन्छन्। तर हामी बिना इतिहास समाज यहाँ आएको छैन। धेरै उतारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो।

    अर्को प्रसंगमा अध्यक्ष ओलीले गरीवि निवारणलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन्।

    जनता भोक–भोकै मरिरहेको अवस्थामा शक्तिको अहंकारको पछाडि लागेर मात्र देश विकास नहुने उनको टिप्पणी छ।

    ‘दुनियाँमा जब गरीबी छ, जनता भोक–भोकै मरिरहेका छन् भने शक्तिको अहङकारको पछाडि लागेर मात्र हुँदैन। पहिला भोकमारी समाप्त गर्नुपर्छ। गरीवी मानव सभ्यताको लज्जाको विषयको कुुरा हो। गरीवी निवारण हाम्रो पहिलो प्राथमिकता हो, ’ उनले भने।