काठमाडौं– कृषि मन्त्री बेदुराम भुसालले यो वर्षको धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने बताएका छन्।
विगतका वर्षहरुमा सोही समयमा आवश्यक मलको उपलब्धता नहुँदा हाहाकार हुने अवस्थाबाट यो वर्ष त्यस्तै अभाव नहुने मन्त्री भुसालले दाबी गरेका हुन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८००८१ को बजेटमा कृषि मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले उक्त दाबी गरेका हुन्।
‘यस वर्षको धानलाई रासायनिक मलको अभाव नहुने ब्यहोरा यस सदनमा राख्न चाहन्छु,’ मन्त्री भुसालले भने।
यस्तै मन्त्री भुसालका अनुसार चालू आर्थिक वर्षको लक्ष्य अनुसार कूल ४ लाख ७८ हजार ५ सय मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया पूरा गरिएको छ। त्यसमध्ये ३ लाख ५१ हजार आयात भइसकेको र ७८ हजार ४ सय २२ मेट्रिक टन मौज्दात रहेको मन्त्री भुसालले जानकारी दिएका छन्।
यस्तै, असार महिनाको अन्त्यसम्म थप ४५ हजार मेट्रिक टन र साउन महिनाभित्र ७५ हजार मेट्रिक मल प्राप्त हुने अवस्था रहेको उनको दाबी छ।
त्यस्तै, मन्त्री भुसालले आगामी आर्थिक वर्षमा आवश्यक मलको व्यवस्था गर्नलाई ३० अर्ब रकम सुनिश्चित गरिएको पनि बताएका छन्।
‘विगतमा जस्तै बजेटको सुनिश्चिता नभएर समयमा मल ल्याउन नसक्ने अवस्था आगामी वर्षमा नहोस् भनेर आगामी आर्थिक वर्षका लागि ३० अर्ब रकम शुनिश्चित गरिएको छ,’ मन्त्री भुसालले भने।