विराटनगर– आर्थिक वर्ष २०८०– ८१ लागि इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ।
१३ औं नगरसभामा उपप्रमुख सङ्गीताकुमारी चौधरीले २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।
उपमहानगरले चालुतर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार र पुँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ।
इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्ब १८ करोड ६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
उपमहानगरले आगामी आर्थिक वर्षमा इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्ने बजेटमा उल्लेख गरेको छ।
मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट बनाउनका लागि पनि बजेट विनियोजन गरिएको छ।
स्वस्थ्य इटहरी कार्यक्रम अन्तर्गत नगरबासीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि २ वटा एम्बुलेन्स खरिद गर्ने पनि घोषणा गरिएको छ।