काठमाडौं महानगरपालिकाले ५ सय नगर प्रहरीको दरबन्दी थप गर्ने - Chaitanya News
  • 2026-11-18
  • 11:24:01
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौं महानगरपालिकाले ५ सय नगर प्रहरीको दरबन्दी थप गर्ने

    काठमाडौं महानगरपालिकाले ५ सय नगर प्रहरीको दरबन्दी थप गर्ने

    काठमाडौँ — काठमाडौं महानगरपालिकाले नगर प्रहरीको दरबन्दी थप गर्ने भएको छ। ३ सय ३४ जना दरबन्दी भएको नगर प्रहरी बलमा संख्या थप गर्दै ५ सय जना पुर्‍याउन लागिएको हो।

    आर्थिक वर्ष ०८०–८१ को बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले नगर प्रहरीको दरबन्दी संख्या ५ सय पुर्‍याउने बताइन्।

    महानगरपालिकाको नगर प्रहरी बलमा स्वीकृत ३ सय ३४ जनाको दरबन्दीमध्ये १ सय ६२ जना नगर प्रहरी जवान रिक्त भएपछि करारमार्फत निजी कम्पनीमार्फत खटाइएको छ।

    काठमाडौं महानगरको नगर प्रहरी बलमा ५ जना उपरीक्षक, पाँचै जना प्रहरी नायब उपरीक्षक, ३२ जना प्रहरी निरीक्षक, ३९ जना सई, २६ जना असई, ६० जना हवल्दारलगायत छन्।

    दरबन्दी थप गर्ने तयारी भएपछि महानगर नगर प्रहरी सेवामा प्रवेश गर्ने पहिलो खुड्किलो जवान पद भए पनि कानुनी अड्चनका कारण महानगरले सिधै भर्ना गर्न सक्दैन। नगर प्रहरी जवान महानगरमा दोस्रो तहको कर्मचारीभित्र पर्छ।

    काठमाडौं महनगरको महानगर प्रहरीसम्बन्धी विनियमावली २०७२ अनुसार नगर प्रहरीहरुको सुरु नियक्त हुने पदमा नगर प्रहरी सहयोगी, नगर प्रहरी जवान, नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी निरीक्षक सिधा भर्ना गर्न पाउने नियम छ। उनीहरुको तलब र रासनभत्ता उपत्यकाको नेपाल प्रहरीले पाउने सुविधाअनुसार रहेको छ।

    तर, सरकारले २०७४ सालमा ल्याएको स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐनमा पहिलो, दोस्रो र तेस्रो तहका कर्मचारीलाई सिधै स्थायी भर्ना गर्न रोक लगाएको छ। स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐन दफा ८३ को उपदफा ८ मा नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, चौकीदार, माली लगायत सरसफाइ सम्बन्धी पदमा स्थायी पदपूर्ति गर्न पाइदैन।