कतिपय उद्योगी व्यवसायीले पारदर्शी हिसाव राख्न हिचकिचावट गरेको अर्थमन्त्री महतको आरोप - Chaitanya News
  • 2026-05-02
  • 19:58:00
  • शनिबार,बैशाख १९, २०८३
  • कतिपय उद्योगी व्यवसायीले पारदर्शी हिसाव राख्न हिचकिचावट गरेको अर्थमन्त्री महतको आरोप

    कतिपय उद्योगी व्यवसायीले पारदर्शी हिसाव राख्न हिचकिचावट गरेको अर्थमन्त्री महतको आरोप

    काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले कतिपय उद्योगी व्यवसायीले पारदर्शी हिसाव राख्न हिचकिचावट गरेको आरोप लगाएका छन्। नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै महतले भने ‘एकाउन्टिङ सिस्टममा जान जुन हिचकिचावट छ, समस्या त्यहाँनिर देख्छु। कतिपय व्यवसायी मकहाँ आएर बरु अर्को ट्याक्स लगाइदिन, भ्याट नलगाइदिन भन्ने गरेका छन्।

    बजेटमा करको दायरा विस्तार गर्ने विषय उठाइएको तर कर नबढाएको उनको दाबी छ। भ्याट छुट सूची हरेक वर्ष बढ्दै गएकोमा आफूले त्यो क्रम रोकेको उनले बताए। त्यस्तै साधारण खर्च बढाउँदै जाने परिपाटी यस पटकको बजेटबाट रोकिएको उनले दाबी गरे। ‘यसपालि ऋण दायित्व तिर्ने रकम बढेको छ’ उनले भने ‘बजेट जति बाँडफाँट भएको छ, त्यसलाई शत प्रतिशत खर्च गर्ने हो भने अर्थतन्त्रलाई चलायमान गर्न मद्दत पुग्छ।’

    खाने तेलको कच्चा पदार्थ आयात गर्दा थप कर लगाएको नभई बीचमा दिइएको भन्सार सहुलियतलाई अहिले निरन्तरता नदिइएको उनको भनाइ छ। ‘पर्यटन, कृषि सूचना प्रविधि र हाइड्रोपावरलाई विशेष फोकस गर्‍यौं भने त्यसबाट अर्थतन्त्रमा राहत पुग्ने छ’ महतले भने। मुलुकको सामर्थ्य कम भएकै कारण धेरै वस्तुको निर्यातमा प्रोत्साहन रकम दिन नसकिएको र कतिपय माग सम्बोधन गर्न नसकिएको उनले बताए। करको दरका सम्बन्धमा आफूले कसैको पक्ष, विपक्षमा नभई अर्थतन्त्रलाई सही गति दिनेगरी तय गरेको उनले बताए। ‘करका कुरामा कसैको मुख हेरेको छैन, जसले मुख हेरोस् भनेर अपेक्षा गर्नुभएको थियो, उहााहरु बेखुस हुनुभएको होला’ उनले भने ‘समग्र अर्थतन्त्रलाई नै हेरेर हामीले बजेट बनाएका हौं।’