विश्वकप छनोट : श्रीलंका विजयी - Chaitanya News
  • 2026-06-06
  • 15:42:48
  • शनिबार,जेठ २३, २०८३
  • विश्वकप छनोट : श्रीलंका विजयी

    विश्वकप छनोट : श्रीलंका विजयी

    काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोटमा श्रीलंकाले ओमानलाई पराजित गरेको छ। जिम्बावेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा शुक्रबार भएको समूह बीको खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो। आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलङ्काले १५ ओभरमा बिना विकेट पूरा गर्‍यो।

    श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ६१ बल खेल्दै आठ चौका बनाए। त्यस्तै पथुम निस्साङकले ३९ बलमा पाँच चौकाको सहयोगमा ३७ रन बनाए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो। ओमानका लागि आयान खानले सर्वाधिक ४१ रनको योगदान दिए। उनले ६० बल खेल्दै चार चौकाको मद्दतमा ४१ रनको योगदान दिएका हुन्।

    यसैगरी ओमानका जतिन्दर सिंहले २१ तथा फयाज बुट्टले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिर कुमाराले तीन विकेट लिए। त्यस्तै कसुन रजितले एक विकेट झारे।

    यस जितसँगै लगातार दोस्रो जित दर्ता गराएको श्रीलङ्काले चार अङ्क जोडेको छ। श्रीलङ्काले पहिलो खेलमा युएईलाई हराएको थियो। तीन खेल खेलको ओमानको पनि समान चार अङ्क नै रहेको छ। यसअघि ओमानले आयरल्यान्ड र युएईलाई पराजित गरेको थियो।