काठमाडौं– नेपाल टेलिकमको नाममा सामाजिक सञ्जालमा फैलिएको अफरको सूचना नक्कली रहेको कम्पनीले पुष्टि गरेको छ।
नेपाल टेलिकमको नाममा “वार्षिकोत्सवको अवसरमा सही खाम चयन गरी नगदै रुपैयाँ प्राप्त गर्नुहोस्” भनी सामाजिक सञ्जालमा प्रकाशित सूचना गलत रहेको कम्पनीले जनाएको छ।
एक सूचना जारी गर्दै कम्पनीले आफ्ना ग्राहकलाई यस्ता गलत सूचनाबाट सचेत रहन आग्रह गरेको छ।
नेपाल टेलिकमका आधिकारिक फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा उपलब्ध गराइएका प्याकेज अफर, क्वीज र उपहार बाहेक अन्यत्र प्रकाशित पुरस्कार एवं उपहार प्रदान गर्ने सम्बन्धी कार्यक्रम कम्पनीले सञ्चालन नगरेको जानकारी गराइन्,सूचनामा उल्लेख छ।
कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जाल तथा कम्पनीको मोबाइल एप मा राखिएका सूचनाहरूलाई मात्र आधार मानेर कम्पनीका जानकारीहरू प्राप्त गर्न पनि ग्राहकलाई अनुरोध गरिएको छ।
पछिल्लो समयमा विभिन्न चर्चित कम्पनीहरूको नाममा सामाजिक सञ्जालमा विभिन्न नक्कली सूचना जारी गर्दै सर्वसाधारणलाई ठगी गर्ने क्रम बढिरहेको छ।