काठमाडौं– मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ।
सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। तर यस वर्ष एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो।
पूर्वी नेपालबाट भित्रिएको मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर मनसुन फैलिएको र सकृय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।
साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ। मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।