काठमाडौं- ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। रणबहादुर गुरूङको परिवारका चार जनाको पहिरोमा परी ज्यान गएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष खड्ग बरालका अनुसार गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, १० वर्षका छोरा दिनेश गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको हो।
दुई सय मिटर माथिबाट पहिरो आएर घर बगाएर लगेको उनले जानकारी दिए। अहिलेसम्म बाबु, आमा, छोरीको शव फेला परिसकेको छ। छोराको शव फेला पर्न बाँकी रहेको प्रहरीको भनाइ छ। पहिराले बलबहादुर गुरूङ र जहरसिंह गुरूङको घरमा पनि क्षति पुर्याएको छ। ठूलो आवाजकासाथ पहिरो चल्न थालेपछि अरू भागेर ज्यान जोगाउन सफल भएका थिए।
करिब दुई सय घरधुरी रहेको बस्तीमा पहिरो गएको उनले बताए। पहिरोबाट अरू घर पनि जोखिममा रहेको उनले बताए।