वैज्ञानिक अवधारणासहितको एकीकृत भूमि प्रशासन ऐन आउने - Chaitanya News
  • 2026-11-17
  • 01:38:20
  • सोमबार,मंसिर ०१, २०८३
  • वैज्ञानिक अवधारणासहितको एकीकृत भूमि प्रशासन ऐन आउने

    वैज्ञानिक अवधारणासहितको एकीकृत भूमि प्रशासन ऐन आउने

    काठमाडौं- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले वैज्ञानिक अवधारणासहितको एकीकृत भूमि प्रशासन ऐन ल्याउने भएको छ।

    हाल भूमि प्रशासनसँग सम्बन्धित धेरै कानुन भएको, ती कानुन तथा अन्य परिपत्र र कार्यविधिबीचमा एकरूपता, सामञ्जस्यता कायम गर्नु आवश्यक भएको सन्दर्भमा एकीकृत भूमि प्रशासन ऐन आवश्यक भएको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बताए।

    शासन प्रणालीको प्रजातान्त्रीकरण सँगै भूमि प्रशासन, यसका नीतिगत कानुनी र संरचनागत व्यवस्था पनि वैज्ञानिक हुनु पर्ने तथा वैज्ञानिक भूसम्बन्ध बनाउन सकिएमात्र सामाजिक न्याय स्थापित गर्दै आर्थिक सामाजिक रूपान्तरण गर्न सकिने सचिव रेग्मीको भनाइ छ।

    भूमि प्रशासनमा देखिएका समस्या समाधान गर्न र वैज्ञानिक भूसम्बन्ध निर्माण गर्ने गरी अब केही महिनाभित्र एकीकृत भूमि प्रशासन ऐन ल्याउने गरी तैयारी भइरहेको र सम्भव भएसम्म यसको एकीकृत नियमावली पनि सँगसँगै ल्याइने उनले जानकारी दिए।

    सचिव रेग्मीले यसको साथै अन्य धेरै सुधारका कार्यक्रमको थालनीसमेत गरेका छन्। भूमि प्रशासन र सहकारीका काममा प्रभावकारिता ल्याउन उक्त मन्त्रालयले सचिवसँग कार्यालय प्रमुख नामक अन्तरक्रिया कार्यक्रम नियमित रूपमा भर्चुअल माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ। मालपोत र नापी कार्यालयको सेवा प्रवाहको आकस्मिक निरीक्षण गर्दै आइरहेको समेत सचिव रेग्मीले जानकारी दिए।

    यसले सेवा प्रवाह क्रमशः व्यवस्थित हुँदै गइरहेको सेवाग्राहीले अनुभूति गरिरहेको आफूहरूले पाएको उनको भनाइ छ। साथै मन्त्रालयले नापी र मालपोत कार्यालयलाई एकीकृत गरी एकै थलोबाट सेवा प्रदान गर्ने अवधारणा बनाएको छ। वडा कार्यालयबाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने कार्यक्रमसमेत मन्त्रालयले राखेको छ।