काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको अवस्था हेरि चालु आर्थिक वर्ष (आव) मा सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन मन्त्रालयहरुलाई निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयले चालु आव २०७९–८० को बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आव २०८०–८१ को बजेट कार्यान्वयनका लागि बिहीबार विषयगत मन्त्रालयका सचिवहरुसँग छलफल गरेको छ।
सो क्रममा अर्थमन्त्री डा. महतले स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन निर्देशन दिएका हुन्।
अर्थमन्त्री डा. महतले आगामी आवका लागि अहिलेदेखि नै ठोस कार्ययोजना बनाएर अगाडि बढ्न समेत निर्देशन दिए। उनले बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमको कार्यान्वयनमा दृढ भई तयारीमा जुट्न समेत निर्देशन दिए।
सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठ र मुख्य सचिव बैकुण्ठ अर्यालले बजेट कार्यान्वयनको तयारीमा लाग्न सचिवहरुलाई निर्देशन दिए।