काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अफ्ट्यारो व्यहोर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्रबन्ध निर्देशक घिसिङले सो जानकारी दिएका हुन्।
खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उनले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताए। भूमिगत गर्ने काम निकै अफ्ट्यारो रहेको भन्दै उनले यसमा सबै निकायको समन्वय आवश्यक पर्ने बताए। तार भूमिगत गर्ने काम गरुन्जेल दुई–चार महिना अफ्ट्यारो व्यहोर्नुपर्ने उनको भनाइ छ।
प्रबन्ध निर्देशक घिसिङले एनजिओ आइएनजिओहरुलाई विद्युत प्रसारण लाइन बनाउन दिनु नहुने उनले बताए। त्यस्तै, एउटा प्रसारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानुनी व्यवस्था गर्न सांसदहरुको ध्यानाकर्षण गराए।
देशभरको विद्युतका पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै घिसिङले पोल सार्न मात्रै प्राधिकरणलाई ५० अर्ब रुपैयाँ चाहिने बताए।