काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले तीन विकेट लिएको छ।
जिम्बावेको हरारे स्पोर्टस् क्लबमा जारी खेलको २५ ओभरको समाप्तीसँगै नेपालले तीन विकेट लिएको हो। आफ्नो क्रिकेट इतिहासको पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग खल्ने क्रममा नेपालका करण केसी, गुल्सन झा र सन्दिप लामिछानेले समान एक–एक विकेट लिए।
नेपालका लागि करणले वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट गराए। उनले खेलको दोस्रो ओभरको तेस्रो बलमा मेयर्सलाई पेभिलिएन फर्काएका हुन्। करणले यसअघि अमेरिका विरुद्धको खेलमा पनि चार विकेट लिएका थिए।
त्यस्तै नेपालका अर्का खेलाडी गुलशन झाले पाँचौँ ओभरको पहिलो बलमा वेस्ट इन्डिजका जोनसन चाल्र्सलाई शून्य रनमा नै आउट गरे। त्यस्तै सन्दिप लामिछानेले वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान ब्रेन्डन किङलाई आउट गराए। सन्दिपले ब्रेन्डनलाई ३२ रनमा आउट गराएका हुन्। सोह्रौँ ओभरको तेस्रो बलमा किङ बोल्ड हुन पुगेका हुन्। उक्त प्रतियोतिगामा सन्दिपको यो पहिलो विकेट हो।
जारी खेलको २५औँ ओभर सकिँदासम्म वेस्ट इन्डिजले तीन विकेट गुमाएर र एक सय २० रनको योगफल बनाएको छ। अहिले क्रिजमा वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरन छन्। कप्तान होपले ४७ रन बनाएका छन्। उनले ७२ बलमा पाँच चौका प्रहार गर्दै ४७ रन बनाएका छन्। त्यस्तै पुरनले ३२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रनमा अविजित छन्।
यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो।