काठमाडौं– सरकारले धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेका संरचना हस्तान्तरण गर्दा लाग्ने करमा छुट दिएको छ।
फाउण्डेसनले सिन्धुपाल्चोमा निर्माण गरेको ‘गिरानाचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना’को स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा असुल गर्नुपर्ने अग्रिम कर छुट दिने निर्णय गरेको हो।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार उक्त परियोजनाको स्वामित्व हस्तान्तरणमा कर छुट गरिने उल्लेख छ।
मन्त्रिपरिषद्ले बैंकिङ कसुरको शुरु कारवाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई दिएको छ। हाल बैंकिङ कसुरसम्बन्धी मुद्दा पाटन उच्च अदालतको वाणिज्य इजलासमा मात्रै लाग्ने गरेको छ।
मन्त्रिपरिषद्को यो निर्णयले अब बैंकिङ कसुर तथा सजाय ऐन २०६४ ले गरेको व्यवस्थाअनुसार कसुरको कारवाही देशैभरका जिल्ला अदालतबाट हुने भएको छ।
मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्ने र ५ अर्ब ३१ करोड रुपैयाँ पुर्याउने भएको छ।