काठमाडौं– सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरूले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन्।
हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै हामीले आज मुद्दा दर्ता गरेका छौँ,” प्रज्ज्वल शमशेर राणाले भने, “आज पेसी चढेन। चाँडै पेसी चढ्ने र फैसला आउने हाम्रो अपेक्षा छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले सोमबारबाट कामपाभित्रका सिनेमा घरमा ‘आदिपुरुष’लगायत हिन्दी सिनेमा चलाउन नदिने बताएका थिए। सोही दिनबाट कामपा भित्रका सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन्। ‘आदिपुरुष’ भने वितरकले देशभरका हलबाट उतारिसकेका छन्।
संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न नमिल्ने भन्दै सिनेमा घर सञ्चालकहरूले बताउँदै आएका छन्।
सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्दै उनीहरूले प्रश्न उठाएका छन्। ‘आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद राखेको भन्दै बालेनले उक्त संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए। तर, सो समयभित्र संवाद नहटाएको भन्दै बालेनले कामपाभित्रका हलमा सोमबारबाट ‘आदिपुरुष’सहित हिन्दी सिनेमा चलाउन रोक लगाएका थिए।