हिन्दी फिल्म बन्द गराएको भन्दै मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालले दिइन् पदबाट राजीनामा - Chaitanya News
  • 2026-11-18
  • 10:16:47
  • बुधबार,मंसिर ०३, २०८३
  • हिन्दी फिल्म बन्द गराएको भन्दै मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालले दिइन् पदबाट राजीनामा

    हिन्दी फिल्म बन्द गराएको भन्दै मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालले दिइन्  पदबाट राजीनामा

    काठमाडौं– काठमाडौं महागनगरपालिका मेयर बालेन शाहका शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन्।

    महानगरपालिका भित्रको वेथिति मौलाउँदै गएको र क्षेत्राधिकार बाहिर गएर महानगर चल्न थालेपछि पदबाट राजनीमा दिएको अर्यालले जनाएकी छन्।

    अर्यालले भनिन्, ‘महानगरपालिकाले गर्ने काम प्रति नै सन्तुष्ट हुन सकिनँ। महानगरपालिकाले नियन्त्रण गर्ने नाममा गैरकानुनीक रुपमा अग्रसर हुन थाल्यो। समाजमा गर्ने कार्यप्रति नै मेरो विमति भएको हो। पछिल्ला घटनाहरु हेर्ने हो भने पनि त्यस्तै भइरहेको छ। नगरपालिकाको प्रहरी जान्छ। ड्याङ–ड्याङ, डुङ–डुङ पार्छ। सबै जना ड्याङ–ड्याङ, डुङ–डुङको त्रासमा छन्।’

    महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपालमा हिन्दी फिल्म बन्द गराएको भन्दै अर्यालले आपत्ति जनाइन्। भारतीय चलचित्र ‘आदिपुरुष’को विषयलाई लिएर महानगर प्रमुख शाहले काठमाडौं महानगर क्षेत्रका हलहरुमा हिन्दी फिल्न नचलाउने निर्णय गरेका छन्।

    ‘पछिल्लो समय महानगरपालिका सिनेमा हल बन्द गराउन तल्लिन छ। उसको आफ्नो दायरा नै नभएको ठाउँमा बन्द गराउन जाने। तिम्रो श्रीमान्‌ (भास्कर ढुंगाना)लाई कन्भिन्स गराउ भन्ने दबाब आयो। म स्वतन्त्रता चाहाने व्यक्ति हुँ, त्यसकारण मैले राजनीमा दिएकी हुँ,’ अर्यालले भनिन्। अर्यालको परिवार फिल्म हलको व्यवसायमा छ।

    अर्यालले आफू लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने बताउँदै यसबारे सम्वाद नै नगरी निर्णय गरेर नगरपालिकाले हस्तक्षेप गर्ने गरेको बताइन्।

    उनले महागरपालिकाले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि बताइन्।

    संस्थागत विद्यालयहरुलाई नियममा बाँध्ने कुरामा आफ्नो पूर्ण समर्थन रहेको उनको भनाइ छ। कम गर्ने क्षेत्रमा आफूलाई कुनै पनि अवरोध नभए पनि समाजसँग जोडिएका क्षेत्रसँग भने दबाब खेप्नु परेको अर्यालले उल्लेख गरिन्।

    ठेलागाडादेखि सिनेमा हलसम्ममा गैरकानुनी भए पनि कानुनी रुपमा प्रक्रियागत रुपमा अघि बढ्नु पर्नेमा आफ्नो मत रहेको अर्यालले बताइन्। उनले सिनेमासँगको बन्देजको कुरा आफ्नो पारिवारिक रुपमा समेत जोडिएको बताउँदै मुद्दा मामिलाको रुपमा जाँदा आफू मौन भएर बस्न नसक्ने उनले उल्लेख गरिन्।