काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले अहिलेको आर्थिक मन्दीको बेला सरकारसँग पैसा छैन भने सांसद विकास कोषको ५ करोड रुपैयाँ नचाहिने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी, एमालेलाई पनि त्यसका लागि आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले भने, ‘यदि सरकारसँग पैसा छैन भने जुन हामीलाई ५ करोड रुपैयाँ दिनुभएको छ, त्यो चाहिँदैन। आर्थिक मन्दीबाट देशलाई माथि उकास्नका लागि व्यापार घाटाबाट उकास्नका लागि हामीलाई दिनुभएकौ त्यो ५ करोड रुपैयाँ राप्रपाको तर्फबाट सम्पूर्ण रकम तपाईँलाई दिन चाहन्छौँ। यो राष्ट्र निर्माण गर्न र घाटा बचाउनका लागि हाम्रा रविजीको पार्टीले पनि अरू सांसदहरूको पार्टीले पनि, एमालेले पनि आफूले पाउने ५ करोड दिनुहुन्छ भन्ने मलाई लागेको हो। सरकारमा रहेका पार्टीले दिने कि नदिने हो? नयाँले त दिने भनिसके।’
उनले काठमाडौँ(हेटौडा सुरुङमार्गका लागि बजेट व्यवस्थापन गर्न आग्रह गरे। सरकारसँग पैसा छैन भने सो परियोजनाका लागि जापान सरकारसँग शून्य दशमलव ५ प्रतिशतमा अनुदान पाउन सकिने उनले बताए। सो सुरुङमार्गको भौगोलिक अवस्थाको अध्ययन जापानको हाज्मा कम्पनीले गरिसकेको उल्लेख गर्दै सो परियोजना सुरु भयो भने बिहार र युपीका पर्यटक आउन पनि नजिकको दुरी पर्ने उनले बताए।
यस्तै उनले हेटौँडामा रहेको कपडा उद्योग, बुटवल धागो कारखाना र गोरखकाली कारखाना पुनः सञ्चालन गर्ने कुरा बजेटमा राखिएको बताउँदै यी कारखाना कसरी सञ्चालन गर्ने भन्दै प्रश्न गरे। उनले नेपालमा कपास उत्पादन बन्द गर्ने तर कपडा उत्पादनका लागि विदेशबाट धागो ल्याउने कुरा गलत निर्णय भएको बताएका छन्।