धनगढी– सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचार सुरु भएको छ।
बझाङस्थित रितु पोलिक्लिनिकबाट रेफर गरिएका उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार सुरु भएको हो। उपचारमा संलग्न मेडिकल कलेजका डाक्टर राहुल डंगौरालाई उद्धृत गर्दै सुदूरपश्चिमकी सांसद गीता चौधरीले मन्त्री सिंहको उपचार सुरु भएको जानकारी दिइन्।
मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ। रितु पोलिक्लिनिकका डाक्टर रञ्जित चौरासियाले मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको बताए। साथै उनको नाकबाट अत्यधिक रक्तश्राव हुनुका साथै अक्सिजनको मात्रा तथा नाडीको चाल कम रहेको छ। तर मुटुको चाल भने अधिक रहेको बताइएको छ।
उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ। उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ।
दुर्घटनामा मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नं।को गाडी केदारस्युँ गाउँपालिकामा दुर्घटनामा भएको हो।