धनगढी– सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ। दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ।
डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।
उनका अनुसार गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका छन्।
उनीहरुको उद्दार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको छ। उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन्।