आयरल्यान्डले ओमानलाई दियो २८२ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 13:52:09
  • शनिबार,जेठ २३, २०८३
  • आयरल्यान्डले ओमानलाई दियो २८२ रनको लक्ष्य

    आयरल्यान्डले ओमानलाई दियो २८२ रनको लक्ष्य

    काठमाडौं– जर्ज डकक्रेल र ह्यारी टेक्टरले अर्धशतक बनाएपछि आयरल्यान्डले आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ओमानसामु २८२ रनको लक्ष्य पेस गरेको छ।

    सोमबार जिम्बाब्वेको बुलावायो एथलेटिक क्लबमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको आयरल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २८१ रन बनायो।

    आयरल्यान्डका लागि डकक्रेलले अविजित ९१ रन जोडे। डकक्रेलले ९८ बलमा सात चौका र दुई छक्का प्रहार गरे। टेक्टरले ८२ बलमा पाँच चौकासहित ५२ रन बनााए। लोर्कान टकरले २६ र पाउल स्टर्लिङले २३ रनको योगदान गरे। एन्डी म्याकब्रेन र गारेथ डेलेनीले समान २० रन जोडे।

    ओमानका विलान खान र फयाज बटले समान दुई विकेट लिए। जिशम मक्सुद, आयान खान र जय ओडेड्राका नाममा एक÷एक विकेट रह्यो।

    छनोट प्रतियोगितामा आयरल्यान्ड र ओमान समूह ‘बी’मा छन्। यो समूहमा श्रीलंका, युनाइटेड अरब इमिरेट्स ९यूएई० र स्कटल्यान्ड समेत छन्।

    आजै अर्को खेलमा श्रीलंकाले यूएईसामु ३५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    प्रतियोगिताको पहिलो दिन समूह ‘ए’अन्तर्गत जिम्बाब्वेले नेपाललाई आठ विकेटले हराएको थियो। दुईपटकको विश्व विजेता वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको थियो।

    दुवै समूहका शीर्ष तीन टिमले प्रतियोगिताको सुपर–६ मा स्थान पक्का गर्नेछन्। सुपर–६ बाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।