काठमाडौं– काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने भएको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले सोमबार (भोलि)बाट महानगरभित्रका हलहरुमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन्।
मेयर शाहले केही दिनअघि भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको एक डायलगको विषयलाई लिएर तीनदिन भित्र हटाउन र नहटाएमा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने अल्टिमेटम दिएका थिए। आइतबार तीन दिन सकिएको छ। तर, नेपाल बाहिर फिल्मको प्रदर्शनका उक्त डायलगलाई जस्ताको त्यस्तै राखिएको छ।
‘जानकी भारतकी छोरी हुन्’ भन्ने उक्त् डायलग महानगरले दिएको समयमा नहटाएपछि काठमाडौंभित्रका हलहरुमा हिन्दी फिल्म चल्न नदिने भएको हो। नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बालेनले बताएका छन्।
फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ। उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ। उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। ’
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बालेनको भनाइ छ।