काठमाडौँ — देशमा लोडसेडिङ गरी भारतमा बिजुली बेचेको आरोप लागेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खण्डन गरेका छन्। केही समययता नेपाल विद्युत् प्राधिकरणको सिस्टममा आएको गडबढीका कारण तराईका क्षेत्रमा विद्युत् कटौतीको समस्या भएको र यसैलाई लिएर सामाजिक सञ्जालमा गलत हल्ला फैलाइएको घिसिङले बताए।
देशको मध्य तथा तराई क्षेत्रमा घरायसी प्रयोजनको उपकरण प्रयोग बढ्दा ट्रान्सफर्मर पड्कनेजस्ता समस्याले विद्युत् आउने–जाने समस्या भएको उनले बताए। नेपालमा बिजुली कटौती गरी भारतमा बिक्री गरेको भन्ने समाचार केही मिडियाले लेखेको भन्दै उनले असन्तुष्टि जनाए। केही मिडिया र सामजिक सञ्जालमा भनिएजस्तो लोडसेडिङ गरेर भारत निर्यात नगरिएको घिसिङको दाबी छ।
आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले तराई क्षेत्रमा विद्युत् मागमा व्यापक वृद्धि भएका कारण ट्रान्सफर्मर पड्कने समस्या भएको जानकारी गराए। एक दिनमै ११ पटकसम्म बत्ती गएको र तराई क्षेत्रमा लोड बढेको उनको भनाइ छ। ‘कतिपय स्थानमा प्रसारण लाइन अभाव र केही प्रसारणलाइन फेर्नुपर्ने अवस्था छ। ट्रान्सफरमर पड्केको छ। हामिले तत्कालै फेरेका पनि छौुं उनले भने ुपिक समयमा बाहेक हाम्रो उत्पादन बढी नै छ।’ देशबाट बिजुली निर्यात पनि भइरहेको उनले बताए। राति बिजुलीको खपत कम रहेको र बिजुली खेर फाल्नुभन्दा निर्यात गरिएको उनको भनाइ छ। ‘प्रणालीमा गडबडी भएकाले हाम्रो पावर प्लान्ट स्वचालित रुपमा बन्द हुन्छ, त्यही कारण बेलाबेलामा समस्या भएको हो’ उनले भने।