काठमाडौं– बागमती प्रदेशले सांसदहरुको छनोटमा योजना सञ्चालन गर्न बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८०–८१मा प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको हो।
बागमतीका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा (तामाङ)ले प्रदेशसभामा पेश गरेको बजेटमा प्रदेश सभाका सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूको विकास सम्बन्धी समस्या र गुनासो सम्बोधन गर्ने सहज वातावरण सिर्जना गर्दै लगिने उल्लेख छ।
प्रदेश सभाका सदस्य र स्थानीय तहबीच सुमधुर सम्बन्ध कायम गरी अन्तरतह समन्वय प्रभावकारी बनाउन तथा विकास र शासनलाई थप जनमुखी बनाउन प्रदेश सभाका सदस्यको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम र आयोजनाहरू छनोट गरी कार्यान्वयन गर्न प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम छुट्याएको छु,’ बजेटमा भनिएको छ।
बजेटमा समाजवाद उन्मुख अर्थतन्त्रको अभ्यास स्थानीय स्तरबाट नै गरी प्रदेशको विकासमा गतिशीलता र प्रभावकारीता अभिवृद्धि गर्न भन्दै मानव विकास सूचकाङ्कमा पछाडि परेका १५ स्थानीय तहका एकरएक वडामा नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न १५ करोड विनियोजन गरेको छ।