काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगको काम कारवाहीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्।
आयोगको ७३ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको भन्दै थप प्रभावकारी रुपमा काम कारवाहीलाई अघि बढाउन आग्रह गरे।
उनले जनतालाई सहज र सुलभरुपमा सेवा दिनका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशा र भरोसाका रुपमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो।
उपराष्ट्रपति यादवले गलत भर्ना र छनौटका कारण प्रशासनिक क्षेत्रभित्र खराबी प्रवेश गर्न सक्ने भएकाले आयोगले त्यसलाई निरुत्साहन गर्न परीक्षणका विधिलाई समयसापेक्ष परिमार्जन गदै लैजानुपर्ने बताए।
कार्यक्रममा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तरपुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन प्रणालीगत विकास गरिएको जानकारी दिए।