जुम्लाका आठ स्थानीय तहलाई दुई अर्ब ३७ करोड रकम विनियोजन - Chaitanya News
  • 2026-05-02
  • 14:52:09
  • शनिबार,बैशाख १९, २०८३
  • जुम्लाका आठ स्थानीय तहलाई दुई अर्ब ३७ करोड रकम विनियोजन

    जुम्लाका आठ स्थानीय तहलाई दुई अर्ब ३७ करोड रकम विनियोजन

    काठमाडौँ– जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ दुई अर्ब ३७ करोड रुपैयाँ बढी रकम विनियोजन गरेको छ।

    आर्थिक वर्ष २०८०–८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड २२ लाख रकम विनियोजन गरिएको हो।

    विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका लागि रू ३८ करोड ५४ लाख रकम विनियोजन गरिएको छ। सात गाउँपालिकामध्ये सबै भन्दा बढी तिला गाउँपालिकाका लागि रू ३१ करोड ९० लाख र सबै भन्दा कम गुठिचौर गाउँपालिकालाई रू २१ करोड ६६ लाख विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ।

    त्यस्तै, तातोपानी गाउँपालिकालाई रू ३१ करोड पाँच लाख, कनकासुन्दरी गाउँपालिकालाई रू २९ करोड ३६ लाख, हिमा गाउँपालिकालाई रू २९ करोड ७१ लाख, पातारासी गाउँपालिकालाई रू २६ करोड ८१ लाख र सिञ्जा गाउँपालिकालालाई रू २८ करोड १९ लाख रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

    सङ्घीय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पुँजीगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ।