अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द - Chaitanya News
  • 2026-05-02
  • 10:48:13
  • शनिबार,बैशाख १९, २०८३
  • अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

    अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

    काठमाडौं– अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि खोटाङको बेसी क्षेत्रका विद्यालय बन्द गरिएका छन्।

    केही दिनयता अत्यधिक गर्मीले विद्यार्थीमा टाउँको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने र बेहोस हुने समस्या देखिन थालेपछि जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानको शिक्षा निकेतन औतारी मावि र चौताराको शिक्षाज्योती मावि बन्द गरिएको हो।

    सुनकोशी किनार नजिक बेंसी क्षेत्रमा रहेका शिक्षा निकेतन औतारी मावि जेठ २६ देखि ३० गतेसम्म बन्द गरिएको छ। त्यस्तै, शिक्षाज्योती मावि जेठ २८ गतेसम्मका लागि बन्द गरिएको हो।

    खोंचमा रहेको विद्यालयमा गर्मीले सताएपछि वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिसँगको सल्लाहमा विद्यालय बन्द गरिएको शिक्षा निकेतन औतारी माविका शिक्षक जीवन राईले बताए। चाप्माखाम खोल्साबाट विद्यालयमा ल्याइएको पानीको मुहान सुकेपछि शिक्षा निकेतन औतारी माविका विद्यार्थी थप मर्कामा परेका थिए।

    विद्यार्थी बेहोस हुन थालेपछि केही दिनमा मौसममा सुधार हुने अपेक्षा सहित विद्यालय बन्द गरिएको शिक्षाज्योती माविका प्रधानाध्यापक तुलसी गिरीले बताए। यसअघि कहिल्यै पनि गर्मीको समयमा विद्यालय बन्द गर्न नपरेको गिरीको भनाइ छ।

    गर्मीले सताउन थालेपछि वर्षे बिदा कट्टा हुनेगरी बिदाको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई सुझाव दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य दाहालले बताए।

    यस वर्ष खोटाङको दिक्तेल बजारमा पनि अत्यधिक गर्मी मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियस मापन गरिएको छ। यो जुन महीनामा मापन गरिएको अहिलेसम्मकै उच्च तापक्रम हो।