दाङ- अत्याधिक गर्मी बढेपछि दाङमा विद्यालयहरूमा पठनपाठन बन्द गर्न थालिएको छ।
स्थानीय सरकारले गर्मी बढेर बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेको भन्दै सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन्।
कतिपय पालिकामा विद्यालयहरु बन्द भइसकेका छन्। तुलसीपुर उपमहानगरपालिकाले जेठ २६ गते देखी ३० गते सम्म विद्यालयको पठनपाठन रोक्ने निर्णय गरेको हो।
यस्तै, लमही नगरपालिकाले जेठ २८ गते देखी असार १ गतेसम्म विद्यालय बन्द गर्ने सूचना सार्वजनिक गरेको छ। दादुरा, रुवेला खोप लगाउने अभियानलाई प्रभावित नगर्नेगरी विद्यालयहरूमा पठनपाठन बन्द गर्ने निर्णय नगरपालिकाले गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रवीन्द्र क्षेत्रीले जानकारी दिए। गढवा गाउँपालिकाले जेठ २५ गते देखी २९ गते सम्म विद्यालय छुट्टी गरेको छ ।
राजपुर गाउँपालिकाले जेठ २६ गतेबाट ३० गतेसम्म वार्षिक विदाबाट कट्टीहुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
अत्याधिक गर्मी बढेपछी बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछी विद्यालयको पठपाठन बन्द गरिएको हो।
राप्ती गाउँपालिकालले जेठ २४ गतेदेखि २६ गतेसम्म हिउँदे र वर्षे बिदाबाट कट्टी हुनेगरी तीन दिन विदा निर्णय गरेको हो।