कर्मचारी सरुवा गरेको ठाउँमा पठाउन प्रहरी नै खटाउनुपर्ने अवस्था - Chaitanya News
  • 2026-05-02
  • 15:23:00
  • शनिबार,बैशाख १९, २०८३
  • कर्मचारी सरुवा गरेको ठाउँमा पठाउन प्रहरी नै खटाउनुपर्ने अवस्था

    कर्मचारी सरुवा गरेको ठाउँमा पठाउन प्रहरी नै खटाउनुपर्ने अवस्था

    काठमाडौं– कर्मचारी सरुवामा अहिले निकै सकसको विषय रहेको खुलेको छ। यतिसम्म कि सरुवा गरिएको ठाउँमा पदस्थापन गर्न प्रहरी नै परिचालन गर्नुपरेको विषय मन्त्री स्वयंले नै सार्वजनिक गरेका छन्।

    बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पत्रकार सम्मलेन गर्दै उक्त विषय जानकारी गराएका हुन्।

    मन्त्रालयमा आयोजित पक्रकार सम्मलेनमा मन्त्री मोदीले आफू मन्त्री भएको ‘डे वान’देखि नै सरुवा व्यवस्थित गर्न खोजिएको तर कर्मचारीको अटेरी भने चरम रहेको बताए।

    कतिसम्म भने सहसचिवसम्मका कर्मचारीलाई सरुवा गरिएको ठाउँमा पठाउनका लागि गृहमन्त्रालयलाई नै पत्र लेख्नुपरेको मन्त्री मोदीले बताए। सरुवा गरिएको ठाउँमा नगएको तथा रमाना नबुझेकाहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न लगाउनेदेखि बैंक खातासम्म रोक्का गरिएको खुलासा मन्त्री मोदीले गरे।

    त्यति गर्दासमेत अटेर गर्दै सरुवा गरिएको ठाउँमा नगएकाले बल प्रयोग गरेर सरुवा गरिएको मन्त्रीको भनाइ छ। गृहलाई पत्राचार गर्दै प्रहरी प्रशासन लगाएर पठाउनु परेको उनले बताए।

    मन्त्रालयका सचिव कृष्णहरि पुष्करले पनि केही कर्मचारीहरुमा अटेरीपना देखिएको स्वीकारे। मेयरदेखि सांसद, मन्त्रीसम्मको पावर लगाएर सधैंभरी सुगममा बस्न केही कर्मचारीहरुले अटेरीपना देखाएको बताइएको छ।