सेयर बजारमा सीमित व्यक्तिको कब्जाबाट मुक्त गरिनेछ : अर्थमन्त्री - Chaitanya News
  • 2026-05-02
  • 13:56:56
  • शनिबार,बैशाख १९, २०८३
  • सेयर बजारमा सीमित व्यक्तिको कब्जाबाट मुक्त गरिनेछ : अर्थमन्त्री

    सेयर बजारमा सीमित व्यक्तिको कब्जाबाट मुक्त गरिनेछ : अर्थमन्त्री

    काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने र उनीहरूकमे लक्ष्य बमोजिम बजार तलमाथि हुने कुरा अन्त्य हुनुपर्ने बताएका छन्।

    बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले धितोपत्र बजारबाट सीमित मान्छे नभइ आम नारिकलाई लाभ पुग्नुपर्ने बताए।

    ‘सेयर बजार सिमित मान्छेले मात्रै फाइदा कमाउने हुन हुँदैन। बैंकमा निक्षेप राख्नुभन्दा सेयरमा लगानी गर्दा केही फाइदा हुन्छ कि भनेर लगानी गर्नेलाई संरक्षण हुनुपर्छ,’ उनले भने, ‘सेयर बजारलाई स्वस्थ, विस्तारित र लगानीकर्ताको लगानी सुरक्षित गर्न राष्ट्र बैंकको भूमिकाकझ लागि पहलकदमी हुन्छ।’

    सेयर बजार आम नागरिकको लगनी र आयआर्जनको माध्यमको रूपमा आकर्षण बढेको भन्दै नियामकको जिम्मेवारी र दायित्व बढेको उनले बताए।

    सेयर बजारमा फाइनान्सियल सेक्टर र हाइड्रोपावर मात्रै सूचीकृत भएको भन्दै अन्य वास्तविक क्षेत्रका कम्पनीलाई पनि सूचीकृत गराउनुपर्ने उनले बताए। ‘वास्तविक क्षेत्रका कम्पनीलाई लयाउन सके लगानीको क्षेत्र पनि बढ्छ,’ उनले भने, ‘कम्पनिहरूको पारदर्शिता सुनिश्चित हुन्छ।’

    उनले धितोपत्र बोर्डले नियमनलाई जिम्मेवारीका साथ निर्वाह गर्नुपर्ने बताए।

    उनले १५ जेठमा आएको आर्थिक विधयेकले सेयर बजारबाट फाइदा लिएका सीमित व्यक्तिलाई कर तिर्नुपर्ने भनेर ल्याएको व्यवस्थालाई समेत भ्रम फैलाउने काम गरेर उनीहरुले नै लाभ लिएको दाबी गरे। ‘आर्थिक विधेयकमा आएको विषय आम लगानीकर्ता लागि थिएन। तर, प्लेयरहरूले लौ बर्बाद भयो, ५६ लाख लगानीकर्ता यसको दायरमा आउने भयो भनेर भ्रम फैलाइयो,’ उनले भने, ‘बजार घट्यो हामीले होइन भनेर स्पष्टीकरण दियौ। त्यसपछि बजार बढ्यो। यसमा आम लगानीकर्ताले होइन तिनैले फाइदा कमाए।’

    अर्थमन्त्री महतले सरकारबाट सेयर बजारप्रतिको विश्वास कम गराउने काम नहुने प्रतिबद्धता जनाए। तर, सीमित व्यक्तिले मात्रै फाइदा लिने र ५६ लाखको नाम लिने परम्पराको अन्त्य हुनुपर्ने बताए। त्यो काम धितोपत्र बोर्डले गर्नुपर्ने उनको तर्क छ।