काठमाडौं- उदयपुर सिमेन्टका महानिर्देशक गोपीकृष्ण न्यौपानेले राजीनामा दिएका छन्। उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन्।
उद्योग आर्थिक संकटमा फसेपछि ऋण तिर्न पैसा मागिएकोमा त्यो सरकारले दिन नसकेपछि राजीनामा दिएको मन्त्रालय स्रोतले बताएको छ। पहिलो चरणमा कम्तीमा २५/३० करोड माग गरिएको उद्योग मन्त्रालयले पैसा नभए जवाफ दिएको थियो।
नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई २ वर्षमै १ अर्ब बढीको आर्थिक भार थपिएको छ। उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महशुल, सरकारी अन्त:शुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडीएस, कोइला खरिदको भुक्तानी लगायत शिर्षकमा एक अर्ब ९ करोड बढी दायित्व भार परेको छ।
बक्यौता नतिरेपछि विद्युत् प्राधिकरणले उद्योगको लाइन समेत काटिदिएको थियो। अधिकांश समय बन्द रहने उद्योगको अवस्था दयनीय बनेपछि उद्योगका ४ कर्मचारी संगठनले ज्ञापनपत्र बुझाउनेदेखि उद्योग बचाइदिन आग्रह गर्दै आएका छन्।