काठमाडौं– मंगलबार सेयर बजार २५ अंकले वृद्धि भएको छ। नेप्से २५.६६ अंकले बढेर एक हजार नौ सय २७.६५ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इन्डेक्स २.८७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले बढेका छन्। मंगलबार कारोबारमा आएका दुई सय ६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता सेयर एक अर्ब ९८ करोड १० लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। सोमबारको तुलनामा कारोबार रकम पनि सामान्य वृद्धि भएको छ। सोमबार एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको थियो।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटेल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.६७ प्रतिशत बढेको छ। त्यस्तै, निर्जीवन बिमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत् उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ।
नेप्से परिसूचक २५ अंकले बढ्दा न्यादी हाइड्रोपावरको सेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ। त्यस्तै, सोल्टी होटेलको सेयरमूल्य ८.७५ प्रतिशत बढेको छ। मंगलबार सोल्टी होटेलको नौ करोड ६८ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ।