काठमाडौँ– अर्थमन्त्री ड.प्रकाश शरण महतले विद्युत् निर्यातको समस्या समाधान हुने बताएका छन्।
आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत् निर्यातको समस्या समाधान हुने बताएका हुन्।
उनले विद्युत् निर्यातको समस्या नहुनुलाई नेपालले ठुलो उपलब्धिको रूपमा लिनुपर्ने बताए। उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए। उनले विद्युत् निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताए।
उनले भने, ‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो। अब दीर्घकालमा विद्युत् निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडी बढेको छ। हामीले विद्युत् उत्पादन गर्न सक्नुपर्यो। अब बजारको समस्या हुन्न भन्ने कुरा यो ठुलो उपलब्धिको कुरा हो जस्तो लाग्छ। यद्यपी यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो। अहिले आएर यसले मूर्त रूप लिएको छ। एकातिर हाम्रो विद्युत् उत्पादन बढ्दै गएमा आन्तरिक खपत पनि हामीले बढाउँदै लाने हो। यहाँको यातायातलाई विद्युतीय माध्यमबाट चलाउनेदेखि लिएर खाना पकाउने कुराहरूलाई विद्युतीय माध्यमबाट चलाउने ग¥यो भने हाम्रो पेट्रोलियम आयात घट्छ। त्यसै गरी विद्युत् निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौँ भने त्यसबाट पनि व्यापार घाटा घट्ने भयो। एकातिर आयात प्रतिस्थापन गरेर अर्को निर्यात बढाएर। यो चाहिँ ठुलो उपलब्धि हुन्छ। त्यस अर्थमा यो भ्रमण उपलब्धिमूलक रह्यो। दुई वटा ठुला महत्त्वपूर्ण आयोजनामा लगानी आउँदै छ त्यो पनि राम्रो कुरा हो।’
मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमूलक रहेको भएको बताए।