सेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा लगाए ताला, कारोबार प्रभावित - Chaitanya News
  • 2026-05-02
  • 13:00:52
  • शनिबार,बैशाख १९, २०८३
  • सेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा लगाए ताला, कारोबार प्रभावित

    सेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा लगाए ताला, कारोबार प्रभावित

    काठमाडौं- सेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा ताला लगाइदिएपछि सेयर बजार प्रभावित बनेको छ ।

    लगानीकर्ताले अहिले तिर्दै आएको ५ र ७ दशमलव ५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग राखेका छन् । ब्रोकर कार्यालयमा ताला लगाएका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि सेयर खरीदबिक्री गर्न पाएका छैनन् ।लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक शंसोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    अर्थमन्त्री प्रकाशशरण महतलाई भेट्न उहाँको निवासमा गएका आन्दोलनकारीहरुलाई प्रहरीले रोकेपछि उनीहरु त्यहाँबाट फर्केर विभिन्न ब्रोकर कार्यालयहरुमा पुगी तालाबन्दी गरेका हुन ।

    प्रस्तावित नयाँ कर ब्यवस्था संशोधन नभएसम्म कारोबार हुन नदिने लगानीकर्ताको अडान छ । यसैबीच, धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसनले शेयर लगानीकर्ताहरुको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाध कारोबार गर्ने वातावरण मिलाइदिन माग गरेको छ ।

    शेयर लगानीकर्ताहरुले आजदेखि ट्रेडिङ म्यानेजमेन्ट सिस्टम टीएमएस बन्द गर्ने कार्यक्रम अघि सारेको भन्दै ब्रोकर एशोसियसनले निर्वाध कारोबार हुने वातावरण सुनिश्चित गर्न माग गरेको हो ।