सुनको मूल्यमा आजसम्मकै नयाँ रेकर्ड - Chaitanya News
  • 2026-05-02
  • 18:58:44
  • शनिबार,बैशाख १९, २०८३
  • सुनको मूल्यमा आजसम्मकै नयाँ रेकर्ड

    सुनको मूल्यमा आजसम्मकै नयाँ रेकर्ड

    काठमाडौं- लगातार बढ्दै गएको सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ। अस्तिभन्दा हिजो र हिजो भन्दा आज भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ।

    सुन आज तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको छ। यो हिजोको भाउभन्दा तोलामा आठ सय रुपैयाँले धेरै हो। हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो। अस्ति, तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो।

    आज फेरि भाउले नयाँ रेकर्ड बनाएको हो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र सुनको आयातमा लाग्ने भन्सार दर समेत सरकारले बढाएकाले भाउ अझै बढ्ने सम्भावना छ।

    गएको १५ गते सार्वजनिक भएको बजेटमा सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार दर बढाएको थियो। बजेट अघि नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ।

    बजेट वक्तव्य पछि सुन र चाँदी दुवैमा १५ प्रतिशत भन्सार र थप २ प्रतिशत विलासिता कर लाग्ने भएको छ।

    यसैबीच, आज चाँदीको पनि भाउ बढेको छ। तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।