धनगढी- धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाले २२औं स्थापना दिवसको अवसरमा रक्तदानसहित विविध कार्यक्रम गरेको छ। कार्यक्रममा १ सय १ पटक रक्तदान गर्ने धनगढीका पत्रकार दीपक उपाध्याय सम्मानित भएका छन्।
विद्यालयमा आयोजित एक कार्यक्रमबीच उपाध्यायलाई विद्यालय परिवारले नगर सात हजार पाँच सयसहित सम्मान गरेको हो। यसका साथै विद्यालय प्राङ्गणमा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमकोसमेत आयोजना गरिएको थियो।
शिक्षकसहित अभिभावकहरूले उत्साहप्रद रूपमा रक्तदान गरेको विद्यालयका अध्यक्ष गणेश जोशीले बताए। ‘हामीले बिहान ८ बजेदेखि विद्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेका थियौं। कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक सहभागिता रह्यो। सोही कार्यक्रममा हामीले रक्तदानको क्षेत्रमा ठूलो योगदान पुर्याउनु भएका उपाध्यायजीलाई पनि सम्मान गर्न पायौं,’ उनले भने।
विद्यालयले शिक्षा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वका काम पनि गरिरहेको जोशीको भनाइ छ।
यस्तै विद्यालय परिवारले बेसहारा महिलाहरूको सहारा बन्दै आएको दृष्टि फाउन्डेसनमा खाद्यान्न सहयोगसमेत गरेको छ। विद्यालयका प्रिन्सिपल हरि जोशीका अनुसार थोरै भए पनि फाउन्डेसनमा रहेका महिलाहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ खाद्यान्न सहयोग गरिएको हो।
विद्यालय स्थापना दिवसकै अवसर पारेर धनगढीका प्रसिद्ध मन्दिरहरू शिवपुरिधाम, लक्ष्मीनारायण, बनदेवी, जाईस्थित गौरीशंकर परिसरमा सरसफाइ गरिएको छ।
प्रिन्ससपल जोशीले आगामी दिनमा पनि यस्ता खालका क्रियाकलाप गर्दै जाने बताएका छन्। उनले संस्कारसहितका शिक्षासँगै सामाजिक क्षेत्रमा पनि विद्यालयले विभिन्न काम गर्दै जाने बताए।
विद्यालयका संस्थापक पिन्सिपल उदय प्रताप सिंहले आज भन्दा २२ वर्षअघि धनगढीमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पवित्र उद्देश्यका साथ विधालय स्थापना गरिएको स्मरण गरे। २२ वर्षको यात्रामा थुप्रै आरोह-अवरोह पार गर्दै हाल चैतन्य पाठशालाको रुपमा संस्कारसहितको शिक्षा प्रदान गर्दै समुन्नत शैक्षिक संस्थाका रुपमा अघि बढिरहँदा आफू निकै गौरवान्वित भएको सिंहले बताए।
![]()