धनगढी- धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। चैतन्य पाठशालाका अभिभावकहरूको सहभागितामा सोमबार पाठशालाले विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकसँग अभिमुखीकरण कार्यक्रम गरेको हो।
चैतन्य पाठशालाका अध्यक्ष गणेश जोशीले अभिभावक भन्ने शब्द गहन र महत्त्वपूर्ण भएको बताएका थिए। बालबालिकालाई जन्म दिनु र भौतिक चिजको परिपूर्ति गर्नुमात्रै अभिभावकत्व नभएको बताउँदै उनले जिम्मेवार र असल अभिभावक बन्नु ठूलो कुरा हुने बताए।
विद्यार्थीलाई संस्कारसहितको शिक्षा प्रदान गर्दै आएको पाठशालाले विद्यार्थीहरूको बहुआयामिक व्यक्तित्व निर्माणमा कार्य गरिरहेको जोशीले बताए । वर्तमान परिवेशमा नैतिकता, निष्ठ, मानवीय मूल्यमान्यतालाई बोध गर्ने शिक्षाको अपरिहार्यतालाई चैतन्यले अगाडि बढाउने उनले प्रस्ट पारे।
संस्कारसहितको शिक्षालाई अभिभावक, विद्यार्थी, शिक्षक र समाजले महत्त्व दिनुपर्ने जोशीले धारणा राखेका छन्।
चैतन्य पाठशालाका प्रधानाध्यापक हरि जोशीले शिक्षा र संस्कारसँगै विवेक र चेतनाको उजागर गर्ने भावनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
पाठशालाका सहायक प्रधानाध्यापक कटक बहादुर सिंहले विद्यार्थीहरूमा चैतन्य अवधारणा फैलाउन अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताए।
कार्यक्रमका प्रमुख अतिथि बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले आफ्नो अभिव्यक्तिमा चैतन्य पाठशालाले प्रदान गर्दै आइरहेको संस्कारसहितको शिक्षा आजको समाजको अहम् आवश्यकता रहेको धारणा व्यक्त गरे।
Post Views: 110