मदिरामा कति बढ्यो अन्तःशुल्क? - Chaitanya News
  • 2026-11-15
  • 06:28:42
  • आइतबार,कार्तिक ३०, २०८३
  • मदिरामा कति बढ्यो अन्तःशुल्क?

    मदिरामा कति बढ्यो अन्तःशुल्क?

    काठमाडौं- सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ। आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन्।

    आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको छ। सक्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टल रू एक सय पाँच पुर्‍याइएको छ।

    अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु (उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायतका वस्तुमा प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिकिलो रू २० पुर्‍याइएको छ।

    कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रू १७ अन्तःशुल्क रहेकोमा त्यसलाई बढाएर प्रतिकिलो रू २० पुर्याइएको छ। आलु चिप्स प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा रू एक बढाएर रू १८ पुर्‍याइएको छ।

    सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस), भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस (टमाटो जुस), अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर रू ११ बाट बढाएर रू १३ पुर्‍याइएको छ।

    सुर्तीरहित पान मसला प्रतिकिलो रु आठ सय २१ बाट बढाएर आठ सय ५० पुर्याइएको छ। त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुट्खा) को अन्तःशुल्क प्रतिकिलो रू तीन सय ५० बाट बढाएर रू तीन सय ६५ पुर्‍याइएको छ।

    अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५, जौबाट बनेको बियर प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पुर्याइएको छ। एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर रू ८६ बाट बढाएर प्रतिलिटर रू ९० पुर्‍याइएको छ।

    असीदेखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर रू ३० अन्तःशुल्क लाग्ने गरेकोमा रू ३५ पुर्याइएको छ। वाइन र ब्रान्डीको कच्चा पदार्थको रूपमा प्रयोग हुने सबै प्रकारका स्प्रिटहरूको अन्तःशुल्क प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पुर्‍याइएको छ।

    पन्ध्र यु पी शक्तिको (४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार सात सय ५० बाट रू एक हजार आठ सय पुर्‍याइएको छ। त्यस्तै, ३० यु पी शक्ति (३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार दुई सय १५ बराबर अन्तःशुल्क लाग्ने गरेको थियो। त्यसलाई बढाएर प्रतिलिटर रू ३५ बढाएर रू एक हजार दुई सय ५० पुर्‍याइएको छ।