काठमाडौं– पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। नारायणगढ बुटवल र कमला कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कमला (ढल्केवर)पथलैया, वुटवल गोरूसिङ्गे, काकडभिट्टा लौकही, पथलैया नारायणगढ र लमही भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको छ। नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू उनले बताएका छन्। पूर्व पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिएका हुन्।
नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए। दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन्।