गणतन्त्र दिवसको अवसरमा जुम्लाको हिमा विद्यालयमा दुईदिने पढाइ मेला - Chaitanya News
  • 2026-07-16
  • 02:58:32
  • बुधबार,आषाढ ३१, २०८३
  • गणतन्त्र दिवसको अवसरमा जुम्लाको हिमा विद्यालयमा दुईदिने पढाइ मेला

    गणतन्त्र दिवसको अवसरमा जुम्लाको हिमा विद्यालयमा दुईदिने पढाइ मेला

    काठमाडौं– जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन, शिक्षालाई जीवनोपयोगी बनाउन तथा विद्यालय सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले जिल्लामै पहिलोपटक बृहत् पालिकास्तरीय पढाइ मेला आयोजना गरेको छ।

    गणतन्त्र दिवसका अवसरमा हिमा गाउँपालिका– २ कोइरेलीस्थित हिमा आधारभूत विद्यालयमा दुईदिने पढाइ मेला आयोजना गरिएको हो। मेलामा गाउँपालिकाका सातै वडाका सात विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शनीमा राखेका छन्।

    स्थानीय स्रोतसाधनको प्रयोग गरी निर्माण गरिएका कृषि तथा उद्यमशीलता सामग्री, विषयगत पठन सामग्री, विद्यार्थीले सिर्जना गरेका साहित्यसहित चित्रकला, हस्तकलासम्बन्धी सामग्री, विद्यालयस्तरमा बनेका शैक्षिक सामग्रीलगायतका विभिन्न स्टल मेलामा प्रदर्शन गरेको हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावलले जानकारी दिए।

    उनका अनुसार देउडा गीत, निबन्ध, वक्तृत्वकला, हाजिरीजवाफ, नृत्य, प्रेरक भनाइ र कम्प्युटर टाइपिङ प्रतियोगितासमेत गराइएको छ। बाह्य ज्ञान प्राप्तिका लागि ‘मेमोरी गेम’ खेलाइएको थियो। जेठ १४ र १५ गते दुई दिन चल्ने पढाइ मेलामा शिक्षक, विद्यार्थी अभिभावको उत्साहजनक सहभागिता रहेको छ।