बोगटान फुड्सिल गाउँपालिकाद्वारा 'शिक्षा र संस्कार' विषयक अन्तरक्रिया सम्पन्न - Chaitanya News
  • 2026-05-02
  • 09:38:42
  • शनिबार,बैशाख १९, २०८३
  • बोगटान फुड्सिल गाउँपालिकाद्वारा ‘शिक्षा र संस्कार’ विषयक अन्तरक्रिया सम्पन्न

    बोगटान फुड्सिल गाउँपालिकाद्वारा ‘शिक्षा र संस्कार’ विषयक अन्तरक्रिया सम्पन्न

    डोटी- बोगटान फुड्सिल गाउँपालिकाले ‘शिक्षा र संस्कार’ विषयक अन्तरक्रियाको आयोजना गरेको छ। आइतबार पालिकाभित्रका प्राचार्यहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको हो।

    चैतन्य ग्रुपका सिइओ एवम् प्रशिक्षक गणेश जोशीले आजको मुख्य आवश्यकता नै संस्कारसहितको शिक्षा भएको बताएका थिए। ‘बालबालिका त काचो माटो जस्तै हुन्, हामीले जस्तो शिक्षा दियौं उनीहरूले त्यस्तै शिक्षा ग्रहण गर्ने हुन्’, उनले भने।

    शिक्षाबाट संकारका विषय निकालिँदा पछिल्लो पुस्ता कम नैतिकवान बन्दै गइरहेको प्रति उनले चिन्ता व्यक्त गरे। ‘हामी विषयवस्तुबाट संस्कृत हटाइयो। नागरिक तथा नैतिक शिक्षा हटाइयो। हामी बाहिर नैतिक शिक्षाको रटान लगाउँछौं। भित्रभित्रै त्यसैलाई कमजोर बनाउन सक्रिय छौं। यस्तो अवस्थामा खै कसरी प्रदान गर्न सकिएला र संस्कारसहितको शिक्षा?,’ उनले प्रश्न गरे।

    विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने खालको प्रविधिमैत्री र प्रयोगात्मक शिक्षासँगै संस्कारसहितको शिक्षा पनि प्रदान गरिनुपर्ने जोशीले बताए। उनले हाम्रो देशको भूबनोट अनुसार पहाडि र हिमाली क्षेत्र निकै दुर्गम भए पनि त्यहाँ प्राप्त स्रोत साधनको आधारमा विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न जोड दिनुपर्ने समेत बताए।

    गाउँपालिकाले बेला-बेला विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएकोमा आफूलाई निकै खुशी तुल्याएको उनको भनाइ थियो।

    गाउँपालिका अध्यक्ष कमल गड्सिलाले पालिकाको चौतर्फी विकासमा नै आफ्नो ध्यान केन्द्रित रहेको बताए। डोटीको दुर्गम क्षेत्र भएका कारण अझैँ सडक, खानेपानी, स्वास्थ्यलगायत थुप्रै कुराको अभाव रहेको उनको भनाइ थियो। कतिपय विद्यालयमा भवनकै अभावसमेत रहेकाले सबै कुरामा ध्यान दिँदै विकास निर्माणका कार्य गरिरहेको उनले बताएका थिए।