डोटी- चैतन्य ग्रुपका सिइओ गणेश जोशीले आफूले कखरा सिकेको विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेका छन्। डोटीको बोगटान फुडसिल गाउँपालिका-२ स्थित केदार अखडा माविका २५० जना विद्यार्थीलाई जोशीले झोला वितरण गरेका हुन्।
‘मेरो शिक्षा आरम्भ भएको शैक्षिक यात्राको आधारस्तम्भ हो केदार अखडा। यस प्राङ्गणमा उपस्थित भएर झोला वितरण गर्न पाउँदा म निकै हर्षित भएको छु। आफ्नै भूमिका लागि केही गर्नुपर्छ भन्ने उदेश्यका साथ आफूले विद्यार्थीहरूलाई झोला वितरण गरेको हुँ’, उनले भने। जोशीले आगामी दिनमा पनि विद्यालयमा सहयोगका कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाएका छन्।
‘म यो स्वर्णिम संयोग सिर्जना गर्न सक्रिय विद्यालय परिवारप्रति आभार व्यक्त गर्दछु। आफूले कक्षा सातसम्म अध्ययन गरेको विद्यालय प्राङ्गमा उभिएर शिक्षा, संस्कार एवम् सामाजिक विकासका विविध आयाम आफ्ना विचार प्रस्तुत गर्न पाउँदा पुल्कित भएको छु,’ उनले भने। कुल देउता पुज्न गएको अवसर पारी जोशीले झोला वितरण गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कमल गड्सिलाले आफ्नो जन्मभूमिमा पुगेर यसरी सहयोग गर्नु निकै सर्हानीय कार्य भएको बताए। जोशीको सत्कर्मबाट अरुले पनि प्रेरणा सिक्नसक्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस नेता डिलबहादुर बमले जोशी सामाजिक भावनाको व्यक्ति भएको बताउँदै उनको प्रसंसा गरेका थिए। विद्यालय र विद्यार्थीको चौतर्फी हितका लागि सबै लाग्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष भरत बम, विद्यालयका प्राचार्य गुमान सिंह बोहरा, विद्यालयका पूर्वप्राचार्य सितराम बमलगायतले आफ्नो धारणा राखेका थिए।
![]()