सरकारले असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने - Chaitanya News
  • 2026-07-16
  • 02:57:21
  • बुधबार,आषाढ ३१, २०८३
  • सरकारले असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने

    सरकारले असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने

    काठमाडौं- सरकारले यस वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो।

    २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइने भए पनि २०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो।

    सरकारले यस वर्षदेखि लागू हुने गरी राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको शिक्षामन्त्री अशोक राईले बताए।

    बैठकले शिक्षा क्षेत्रकै लागि १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा र १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायतासमेत स्वीकार गर्ने निर्णय गरेको छ। विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयको प्रस्ताव बैठकले स्वीकार गरेको हो।

    त्यस्तै, विद्यालय क्षेत्र रुपान्तरणका लागि विश्व बकैंबाट प्राप्त हुने १२० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले परराष्ट्र मामिला प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गरेको छ।